५ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत ५वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ ।
पर्यटन समितिमा तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटेल्स लिमिटेडका सम्बन्धमा छलफल गरिने कार्यसूची छ । राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गरिने सम्भावित कार्यसूची छ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति को बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा बाढी, पहिरो लगायतका मनसुनजन्य घटना एवं विपद् व्यवस्थापन सम्बन्धमा भएका काम कारबाही तथा भावी कार्ययोजना, सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयन कार्ययोजनाका विषयमा छलफल गरिने जनाइएको छ ।
दिउँसो २ बजे विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सार्वजनिक नीतिका सन्दर्भमा समितिको कार्यक्षेत्र र सीमा सम्बन्धमा राष्ट्रियसभा सचिवसँग छलफल गरिने जनाइएको छ ।



















