sevenstartv.com १५ भदौ २०८३, सोमवार

सरकारले थाल्यो निर्वाचनमा थ्रेस होल्ड बढाउने गृहकार्य

२५ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । सरकारले दलहरूले समानुपातिक सिट पाउनका लागि आवश्यक पर्ने न्यूनतम मत प्रतिशत (थ्रेस होल्ड) को सीमा बढाउने गरी कानुन संशोधनको तयारी थालेको छ । 

गृह मन्त्रालयले प्रतिनिधि सभामा कम्तिमा ५ प्रतिशत र प्रदेश सभामा कम्तिमा ३ प्रतिशत मत पाउने दलहरूले मात्रै समानुपातिक सिट पाउने प्रस्ताव गर्दै कानुन संशोधनको तयारी  थालेको जनाएको छ । उक्त प्रस्ताव सहितको निर्वाचन व्यवस्था विधेयक गृह मन्त्रालयबाट कानुन मन्त्रालयमा पुगेको छ । निर्वाचन आयोगले २०८० असार १७ गते गृहमा पठाएको विधेयकको मस्यौदामा भने थ्रेस होल्ड अहिलेकै कायम गरिएको थियो । 

निर्वाचनसम्बन्धी ऐनमा प्रतिनिधि सभामा ३ र प्रदेश सभामा १ दशमलव ५ प्रतिशत मत ल्याउने दलले मतसंख्याको आधारमा समानुपातिक सिट पाउने व्यवस्था छ । यही व्यवस्थालाई नै कायम राखेर आयोगले गृह मन्त्रालयमा विधेयकको मस्यौदा पठाएको थियो । थ्रेस होल्ड कम हुँदा धेरै दलहरूको प्रतिनिधित्व संसदमा हुने र त्यसले अस्थिरता बढाउने दाबीसहित नेपाली कांग्रेस र नेकपा ९एमाले० ले यसको सीमाना बढाउनुपर्ने बताउँदै आएका थिए ।

गृहमन्त्री रमेश लेखकले निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक मन्त्रालयमा छलफल गरेर कानुन मन्त्रालयमा पठाइएको बताए । निर्वाचनसम्बन्धी सात वटा कानुनलाई एकीकृत गरेर आयोगले निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा तयार पारेको हो । प्रतिनिधि सभामा अहिले १४ र केही स्वतन्त्र सांसदहरूको प्रतिनिधित्व छ । दलहरूमध्ये सात वटाले मात्रै पाँच प्रतिशत कटाएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्