संसदको साँचो अन्यत्र रहेको कारण संसद नचलेको सीके राउतकाे आरोप
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संसदको साँचो अन्यत्र रहेको कारण संसद नचलेको आरोप लगाएका छन् । संसदको हिउँदे अधिवेशनमा शुक्रबार आफ्नो धारणा राख्दै उनले शक्ति पृथकीकरण अभ्यास भए पनि कार्यपालिकाले व्यवस्थापिकामाथि हस्तक्षेप गरेको टिप्पणी गरेका हुन् ।
संसदलाई स्वतन्त्र छाडि दिनुपर्ने र सरकारको हस्तक्षेपबाट मुक्त राख्नुपर्ने बताउँदै उनले ढिलो भएपछि संसद खुलेकोमा आफूहरू खुसी रहेको बताए । खब संसदमा जनताको कुरा उठ्छ कि भनेर आशा जागेको बताउँदै उनले संसद नहुँदा सरकार कहाँ छ, मन्त्री कहाँ छ भनेर खोज्नुपरेको जिकिर गरे ।
उनले भने, ‘अहिले हामी अधिकांश मन्त्रीलाई चिनेका पनि छैनौँ, यसलाई सच्याउनुपर्छ ।’ यो सरकारले ल्याएको अध्यादेशबाट डराउने अवस्था नरहेको बताउँदै अध्यक्ष राउतले ती अध्यादेश कानुनसम्मत नै आएको बताए । अध्यादेश सुशासनको पक्षमा, आईटीको पक्षमा आएको उनको भनाई थियो । उनले नेपाली आइटी कम्पनीले पनि विदेशमा आफ्नो शाखा खोल्न पाउने कुरा प्रशंसायोग्य रहेको बताए ।














