लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ
सिरहा । घुस लिने क्रममा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रूपैयाँ नगद सहित पक्राउ परेका छन् । अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई आन्तरिक राजस्व कार्यालय लहानबा नै रंगेहात पक्राउ गरेको हो ।
पुरानो अडिट प्रक्रियालाई अगाडि बढाइदिने भन्दै ५ लाख रूपैयाँ मागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८ र ७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा पालले सो रकम मागेको खुल्न आएको छ ।
पालले उजुरीकर्ताका अनुसार आफूभन्दा माथिका कर अधिकृत प्रकाश राईसहित अन्य व्यक्तिलाई पनि मिलाउनुपर्ने बाहाना बनाउँदै घुस मागेका थिए । रकम नदिएसम्म काम अघि नबढ्ने जानकारी गराए पछि कम्पनीबाट आवश्यक कागजात संकलन गराए पश्चात अडिटकोकाम प्रक्रियामा अधि बढाउने दाउमा पाल रहेका थिए ।
बिचौलियाले आफू बाहिर रहेको भन्दै आफ्ना भाइमार्फत रकम बुझाउन प्रस्ताव गरे पनि अन्ततः पालले रकम कार्यालयमै ल्याउन निर्देशन दिएका थिए । सोही अनुसार अख्तियारको टोलीले उनलाई रकम लिँदै गर्दा पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले कर अधिकृत पालमाथि थप अनुसन्धान भइरहेको जानकारी गराएका छन् ।




-18.jpg)












