बाढीप्रभावित बालबालिकाको फोटो, भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्नु : राष्ट्रिय बाल अधिकार परिषद्
काठमाडौँ । बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको फोटो र भिडियो सामाजिक सञ्जाल एवं सञ्चार माध्यममा जथाभावि पोस्ट नगर्न राष्ट्रिय बाल अधिकार परिषद्ले अपिल गरेको छ ।
परिषद्का अधिकृत तथा सूचना अधिकारी रामबहादुर चन्दद्वारा विज्ञप्तिमा बालबालिकाको गोपनीयता र मर्यादाको सम्मान तथा पालना गर्नु प्रत्येक व्यक्ति र संस्थाको कर्तव्य रहेको उल्लेख गरिएको छ ।
गत बुधबार आएको बाढीका कारण प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराएका दृश्यहरू सामाजिक सञ्जालमा राख्न नहुने उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
परिषद्ले फेसबुक, मेसेन्जर, युट्युब, टिकटक, इन्स्टाग्राम, मेटा, लिङ्क्डइन, थ्रेड, स्न्यापच्याट, भाइबर, ह्वाट्सएप, एक्स ९ट्विटर० लगायतका कुनै पनि सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा त्यस्ता सामग्री सार्वजनिक नगर्न आग्रह गरेको छ ।
परिषद्ले कुनै पनि व्यक्ति वा संस्थाले पीडित तथा प्रभावित बालबालिकाको भिडियो तथा फोटोहरू पोस्ट नगर्न र नगराउन आग्रह गर्दै यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै समक्ष आग्रह गरेको छ।














