‘५०० दिनभित्र सुकुम्बासीलाई लालपूर्जा दिन्छौँ, त्यतिञ्जेल म अबिर-खादा लगाउँदिनँ’
काठमाडौं । सामान्य प्रशासन तथा भूमिसुधार मन्त्री प्रतिभा रावलले देशैभरिको सुकुम्बासी समस्या ५०० दिनभित्र समाधान गर्ने घोषणा गरेकी छन् । कञ्चनपुरमा स्थानीय सुकुम्बासी बस्तीका बासिन्दाहरूलाई सम्बोधन गर्दै उनले सरकार गठन भएको पहिलो दिनदेखि नै आफू यसै कार्यमा लागिपरेको बताइन् ।
रावलले भनिन्, ‘तपाईँहरूको समस्या समाधान गरेर आएपछि मात्र म अबिर र खादा लगाउँछु । काम नगरी सम्मान लिनुको कुनै अर्थ छैन ।’ उनले आफ्नो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) वा अन्य कुनै पनि दलका नेतालाई काम पुरा नभई सम्मान गर्न हतार नगर्न आग्रह गरिन् ।
मन्त्री रावलले सुकुम्बासी र सहकारी पीडितको समस्या सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै ५०० दिनभित्र लालपुर्जा वितरणको काम सम्पन्न गर्ने लक्ष्य सुनाइन् । भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूलाई प्रक्रिया पुर्याएर भूमिको मालिक बनाइने उनको दाबी छ ।
‘विषय जटिल र संवेदनशील छ, कतिपय कानूनी अड्चनहरू पनि छन्,’ उनले भनिन्,’तर हामी ‘डे वान’ देखि यसमा खटिएका छौँ । यो विषयलाई कसैको ‘चुनावी फण्डा’ बन्न दिने छैनौँ । सरकारले काम गरिरहेको छ, अबको केही समय धैर्य धारण गरिदिनुहोला ।’
मन्त्री रावलले अर्को पटक आउँदा काम सम्पन्न भएको खुसीयालीमा मात्र अबिर र खादा साटासाट गर्ने बताइन् ।



















