रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो
काठमाडौँ -रसुवाको विनाशकारी बाढी तथा त्यसपछिको प्राकृतिक विपद्मा परी हालसम्म १ हजार २५२ जनाले ज्यान गुमाएका छन् ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार अपराह्न १२ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विपद्मा भएको मानवीय क्षतिको पछिल्लो अवस्था जानकारी गराएको हो ।
प्राधिकरणका अनुसार बाढीबाट सबैभन्दा बढी चितवनमा ३५५ जनाको मृत्यु भएको छ । चितवनमा कतिपय अवस्थामा मानव अङ्ग मात्र फेला परेको जनाइएको छ । यस्तै, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७, रसुवामा १२७, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ ।
विपद्मा परेका ११ हजार ९९३ जनालाई सुरक्षाकर्मीले जीवितै उद्धार गरेका छन् । नेपाली सेनाले हवाई उडानमार्फत ४ हजार ९१ नेपाली र २७३ विदेशी गरी कुल ४ हजार ३६४ जनाको उद्धार गरेको छ । उद्धारका क्रममा सेनाले ७१५ पटक र निजी क्षेत्रका हेलिकप्टरले १२९ पटक उडान गरेका छन् ।
बाढीमा परी घाइते भएका ५ हजार १३५ जनाको उपचार गरिएको छ । तीमध्ये ३०१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपाली सेनाबाट ३ हजार २०६ र सशस्त्र प्रहरीबाट १ हजार ६२८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । हाल नुवाकोट, धादिङ, रसुवा र काठमाडौँका होल्डिङ सेन्टरमा ३ हजार ९४८ जना आश्रित रहेको प्राधिकरणले जनाएको छ ।
बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन रहेका छन् । तीमध्ये रसुवाका ८६५ र नुवाकोटका १ हजार ५५८ स्थानीय बासिन्दा छन् । यस्तै, ५८३ विदेशी पर्यटक, जलविद्युत् आयोजनाका करिब ९०० कर्मचारी, ४५ सैनिक, २५ नेपाल प्रहरी र १३ सशस्त्र प्रहरीसहित अन्य कर्मचारी तथा जनप्रतिनिधिसमेत बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ ।
खोज तथा उद्धारका लागि देशभर २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना छन् ।
विपद्का कारण अवरुद्ध सञ्चार सेवा पनि क्रमशः सञ्चालनमा आएका छन् । नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटै टावर सञ्चालनमा आइसकेका छन् भने एनसेलका ७८ मध्ये ७५ टावर सञ्चालनमा आएका छन् ।
प्रभावित क्षेत्रमा इन्धन अभाव हुन नदिन ४६ हजार लिटर डिजेल, २४ हजार लिटर पेट्रोल र २१ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ ।
सरकारले प्रभावित जिल्ला तथा स्थानीय तहका लागि तत्काल नगद राहतसमेत उपलब्ध गराएको छ । रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ निकासा गरिएको छ । यस्तै, प्रभावित १५ स्थानीय तहलाई कुल १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
काठमाडौँबाट ४५ ट्रक र ३७ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । हवाई मार्गबाट पनि राहत सामग्री ढुवानी भइरहेको छ । सशस्त्र प्रहरीले नुवाकोट र रसुवामा १३० पटक हवाई उडान गरी राहत सामग्री पुर्याएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सम्पर्कविहीन विदेशी नागरिक, उद्धार गरिएका व्यक्ति तथा उपचाररत व्यक्तिको विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत सार्वजनिक गरिरहेको जनाएको छ ।












